काठमाडौं : देशभर चिसो बढ्दै गएसँगै स्वास्थ्य विशेषज्ञहरूले बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन आग्रह गरेका छन्। जाडो मौसममा श्वासप्रश्वास, रुघाखोकी, निमोनिया र पेटसम्बन्धी समस्या बालबालिकामा बढी देखिने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ।
बालबालिकालाई पौष्टिक आहार र सरसफाइमा ध्यान
कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईँका अनुसार बालबालिकालाई जाडोमा पौष्टिक आहार खुवाउन आवश्यक छ। यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ। साथै सरकारले उपलब्ध गराएका खोप समयमै लगाउनुपर्नेमा उनको जोड छ।
“जाडोमा सरसफाइमा ध्यान दिनुपर्छ। बच्चाहरूलाई चिसोमा नुहाउन र हातखुट्टा धुन गाह्रो हुने भएकाले छालाका रोगको सम्भावना पनि बढ्छ।” उनले भने। हिटर तथा कोइला बाल्दा कोठामा हावा आवतजावत हुने व्यवस्था गर्न सुझाव दिँदै डा. चापागाईँले झ्यालढोका बन्द नगर्न आग्रह गरे।
झोलिलो खानपिन र न्यानो लुगाको महत्त्व
त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले बालबालिकालाई झोलिलो खाना, न्यानो लुगा र दैनिक घाम ताप्न सुझाव दिइन्। "घाम ताप्दा भिटामिन डी प्राप्त हुन्छ, जसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।" उनले भनिन्।
रुघाखोकी लाग्दा औषधि जथाभावी नखानु
विशेषज्ञहरूका अनुसार रुघाखोकी सामान्यतया पाँचदेखि छ दिनभित्र ठिक हुन्छ। तर, सास फेर्न गाह्रो हुने, ज्वरो अत्यधिक आउने वा खाना कम खाएमा स्वास्थ्यकर्मीको सल्लाह लिएर औषधि सेवन गर्नुपर्ने डा. चापागाईँले बताए।
बाल स्वास्थ्य नर्स डा. सुरक्षा सुवेदीले बिहान र साँझको चिसोमा बालबालिकालाई घरमै खेल्न र न्यानो लुगा लगाउन आग्रह गरिन्। साथै, छाला सुख्खा हुने भएकाले ‘मोस्चराइजर’ प्रयोग गर्न सुझाव दिइन्।
जाडो मौसममा बच्चाहरूलाई आवश्यकताभन्दा बढी औषधि नदिई पौष्टिक आहार, झोलिलो खानेकुरा र न्यानो वातावरणले स्वास्थ्य समस्या धेरै हदसम्म कम गर्न सकिनेमा विज्ञहरूको विश्वास छ।



