काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिँदै सामाजिक तथा आर्थिक उन्नति गर्ने योजना अघि सार्ने बताएका छन्।
झापाको गौरादहमा आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले रोजगारी सृजना र उद्यमशीलता प्रवर्द्धनका लागि साना उद्योग सञ्चालनमा सरकारको प्राथमिकता रहेको बताए।
प्रधानमन्त्रीले पछाडि पारिएका समुदायलाई उनीहरूको हकहित सुनिश्चित गर्ने नीति अनुसार सरकारले विभिन्न कार्यक्रम अघि बढाउने उल्लेख गरे। उनले भने “तपाईंहरूको मागप्रति सरकारले संवेदनशीलता देखाउँदै यथाशक्य छिटो सम्बोधन गर्न काम गरिरहेको छ।”
ताजपुरिया समुदायको संस्कृति, परम्परा र पहिचानलाई आधुनिक सोचसँग समायोजन गर्दै निरन्तरता दिनुपर्ने आवश्यकतामा पनि प्रधानमन्त्रीले जोड दिए।
समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले कार्यक्रममा प्रधानमन्त्रीलाई अभिनन्दन गरेका थिए। करिब २१ हजार जनसङ्ख्या भएको ताजपुरिया समुदाय मुख्यतः पूर्वी नेपालको झापा र मोरङ जिल्लामा बसोबास गर्दछ।
प्रधानमन्त्रीको यो प्रतिबद्धता पछाडि परेका समुदायहरूको आर्थिक सशक्तीकरण र समृद्धिका लागि एक सकारात्मक कदम हुने विश्वास गरिएको छ।



