काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच काठमाडौंमा भेटवार्ता सम्पन्न भएको छ।
अर्थ मन्त्रालयमा सम्पन्न भेटवार्तामा आर्थिक सहयोग, एमसिसी र युएसएआईडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी र समग्र द्विपक्षीय सहकार्यका विषयमा गहन छलफल भएको थियो।
उपप्रधानमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अमेरिकी सहयोगको क्षेत्र थप विस्तार गर्न आग्रह गरे। उनले अमेरिकासँगको आर्थिक साझेदारीले नेपालको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देशहरू आर्थिक रूपमा चुनौतीको सामना गरिरहेको बेला नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न गरेको प्रयासप्रति प्रशंसा जनाए। उनले आगामी दिनमा नेपालसँगको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने र अमेरिकी सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए।
उक्त भेटले नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यको नयाँ सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।



