काठमाडौं : नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले स्टारलिङ्क भित्र्याउनका लागि लामो समयदेखि प्रयास गरिरहेको कुरा खुलासा भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले नेपालमा स्टारलिङ्कको सेवा सुरु गर्न आफ्नो आतुरता व्यक्त गरेका छन्।
उनले भने “स्टारलिङ्कको सेवा नेपालका लागि अत्यन्तै आवश्यक छ। म विगत दुई वर्षदेखि यसको पक्षमा लबिङ गर्दै आइरहेको छु र स्टारलिङ्कलाई नेपालमा छिटो सेवा सञ्चालन गर्न आग्रह गरेको छु।”
अग्रवालका अनुसार नेपालको विकट र दुर्गम क्षेत्रहरूमा स्टारलिङ्कको सेवा अत्यावश्यक छ। उनले भने “यो सेवा काठमाडौंका अर्बान ग्राहकका लागि मात्र होइन फोक्सुन्डो जस्ता दुर्गम स्थानका ग्राहकहरूको लागि पनि उपयोगी हुनेछ।
जहाँ हामी फाइबर नेटवर्क वा टावरको संरचना बनाउन सक्दैनौं, त्यहाँ स्टारलिङ्कले भरपर्दो र उच्च गतिको इन्टरनेट सेवा पुर्याउन सक्छ। यदि वर्ल्डलिङ्कले यस्तो सेवा दिन सकेको भए त्यो पनि धेरै राम्रो हुने थियो।”
नेपालमा हाल स्टारलिङ्कको बारेमा व्यापक चर्चा भइरहेको छ। हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्टारलिङ्कका मालिक एलन मस्कसँग वार्ता गरेका थिए। यसअघि कम्पनीका प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीलाई डेमो पनि प्रस्तुत गरेका थिए।
के हो स्टारलिङ्क?
स्टारलिङ्क एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटलाइट इन्टरनेट सेवा हो। सामान्यत: इन्टरनेट सेवा प्रदायकहरूले केबल वा मोबाइल टावरको प्रयोग गरी सेवा दिन्छन्, तर स्टारलिङ्कले पृथ्वीको परिक्रमा गर्ने स्याटलाइट नेटवर्कमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँछ।
यसका प्रमुख उद्देश्यहरू ग्रामीण र विकट क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउनु हो, जहाँ पारंपरिक इन्टरनेट सेवा बिस्तार गर्न गाह्रो छ।
स्टारलिङ्कको इन्टरनेट सेवा कुनै लामो केबलमा निर्भर छैन; यसले अन्तरिक्षबाट सिधै इन्टरनेट सेवा प्रदान गर्छ। जसले दुर्गम क्षेत्रहरूमा पनि उच्च गतिको इन्टरनेट सम्भव बनाउँछ।
स्टारलिङ्कका उपग्रह पृथ्वीको नजिक रहेका कारण यसको इन्टरनेट सेवा तीव्र र विश्वसनीय हुन्छ। यसका अलावा, स्टारलिङ्कले उडान गरिरहेका जहाजहरूलाई पनि उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्न सक्छ।
पारंपरिक ब्रोडब्यान्ड कम्पनीहरूले फाइबर अप्टिक केबल प्रयोग गर्छन्, जसले शहर र गाउँमा इन्टरनेट सेवा पुर्याउन सजिलो बनाउँछ। तर दुर्गम क्षेत्र र पहाडी इलाकामा केबल पुर्याउन महँगो र कठिन हुन्छ, त्यसैले त्यस्ता ठाउँहरूमा स्टारलिङ्कको सेवा निकै उपयोगी साबित हुन्छ।



