काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा समावेश गर्ने निर्णय गरेका छन्। केही दिन मात्रै काम गरेपनि अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा पाउने अधिकार हुनेछ।
सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने "थोरै सेवा गरेकाहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ। यस निर्णयले सबैका लागि सुरक्षा र सहयोगको मार्ग खोलेको छ।"
प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने कुरा सरकारको प्राथमिकता रहेको बताए।
प्रधानमन्त्री ओलीले भने "यो करारमा रहेका अस्थायी, ज्यालादारी कर्मचारीहरूलाई सुरक्षा कोषमा समावेश गर्ने कुरा आएको छ। केही दिनको सेवा भए पनि यो नियम लागू गर्नु पर्छ। यससँगै देशबाहिर रोजगारीका लागि गएका युवाहरूसँग सम्बन्धित नीति पनि पुनः निर्धारण गर्न आवश्यक छ।"
उनले विदेशमा काम गर्ने २५–२६ लाख नेपाली युवाहरूसम्म सामाजिक सुरक्षा कोषको पहुँच पुर्याउने कुरा सरकारको दायित्व रहेको पनि बताए।
प्रधानमन्त्री ओलीले सरकारको प्रमुख उद्देश्य भनेका जनताको सुख र समृद्धि रहेको समेत प्रष्ट पारे।



