काठमाडौं : ११ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चाँडै नयाँ अध्यक्ष पाउने संकेत देखिएको छ। अध्यक्ष पदका पाँच दावेदारमध्ये चारजनासँग अन्तर्वार्ता सम्पन्न भएसँगै सिफारिस समितिले मन्त्रिपरिषद्लाई तीनजनाको नाम पठाइसकेको छ।
अर्थ मन्त्रालय मातहतको सिफारिस समितिले आइतबार सेबोनका कार्यकारी निर्देशक डा. नवराज दाहाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसँग अन्तर्वार्ता गरेको थियो।
यसअघि अन्तर्वार्तामा अनुपस्थित रहेका यी दुई जना आइतबारको प्रक्रिया सहभागी भएपछि सिफारिस समितिलाई तीनजना छनोट गर्न सहज भएको हो।
तर, प्रत्यासीमध्येका नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं भने पुनः अनुपस्थित भए।
सिफारिस समितिले डा. नवराज दाहाल, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम मन्त्रिपरिषद्लाई पठाएको छ। सम्भवत: आगामी मन्त्रिपरिषद् बैठकले सेबोनको नयाँ अध्यक्षको नियुक्ति टुंग्याउनेछ।
यसबीच, कर्पोरेट समूहहरू आफूसँग नजिकका उम्मेदवारलाई अध्यक्ष बनाउनका लागि 'लविइङ'मा सक्रिय भएका छन्। नयाँ नेतृत्वले सेबोनलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएकाे छ।



