काठमाडौँ : ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकहरूले आँखा परीक्षण, उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गराएका हुन्।
ढोरपाटन नगरपालिका र लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा सञ्चालित यो शिविर शनिबारदेखि सुरु भई दुई दिनसम्म सञ्चालन भएको थियो। पहिलो दिन पाँच सय ८१ जना र दोस्रो दिन चार सय ७४ जना गरी कुल एक हजार ५५ जनाले सेवा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले जानकारी दिए।
शिविरमा ५४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने थप १५ जनालाई शल्यक्रियाको लागि सिफारिस गरिएको आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताए।
शिविर सञ्चालनमा नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङले प्राविधिक सहयोग गरेका थिए। साथै, ताकम फाउन्डेसन नेदरल्याण्ड्स, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ र बुर्तिबाङ राइजिङ युवा क्लबको विशेष भूमिका रहेको थियो।
यसअघि गत बिहीबार तमानखोला गाउँपालिकामा पनि निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो, जहाँ आठ सय जनाले सेवा लिएका थिए।
यस प्रकारका शिविरले ग्रामीण क्षेत्रमा पहुँचबाहिर रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिएको छ।



