काठमाडौँ : भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबर महिनामा ८५ प्रतिशतले वृद्धि भई १ लाख ३९ हजार युनिट पुगेको छ। बजारमा बजाज, टिभिएस र हिरोजस्ता पुराना ब्रान्डको इलेक्ट्रिक टु–ह्विलरले लोकप्रियता बढाएका छन्।
यी तीन ब्रान्डले मात्र ६५ हजार ४ सय ८९ यूनिट इलेक्ट्रिक टु–ह्विलर बिक्री गरेका छन्, जसमा टिभिएसले २९ हजार ९ सय ३०, बजाजले २८ हजार २ सय ४५ र हिरो मोटोकर्पले ७ हजार ३१ यूनिट बिक्री गरेका छन्।
ओलाले पनि अक्टोबरमा सबैभन्दा बढी ४१ हजार ६ सय ६४ यूनिट बिक्री गर्न सफल भएको छ, यद्यपि यसको बिक्री अघिल्लो महिनाहरू, अगष्ट र सेप्टेम्बरको तुलनामा केही हजार युनिटले घटेको छ।
अन्य नौ स्टार्टअप कम्पनीहरूले संयुक्त रूपमा २० हजार यूनिट इलेक्ट्रिक टु–ह्विलर बिक्री गर्दा, एथरले मात्रै १६ हजार यूनिट बिक्री गरी हालसम्मकै उच्च मासिक बिक्री गरेको छ।
रिपोर्ट अनुसार स्थापित ब्रान्डहरूले आर एन्ड डी, डिलर नेटवर्क र कम्पोनेन्ट आपूर्ति व्यवस्थामा प्रगति गरिरहेका कारणले भविष्यमा यी ब्रान्डहरूले नै बजारमा प्रभुत्व जमाउने अपेक्षा गरिएको छ।
स्टार्टअप कम्पनीहरूले भने पर्याप्त प्रविधि र पूँजी अभावका कारण प्रतिस्पर्धामा केही संघर्ष गर्नुपर्ने देखिन्छ।



