काठमाडौँ : नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि भोलि कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएपछि एयरलाइन्सले यो निर्णय गरेको हो।
यस अनुसार, काठमाडौं–नारिताको उडान राति ११ः५० बाट ९ः१५ बजे सारिएको छ। काठमाडौं–दोहाको राति ११ बजेको उडान अब ९ः३० बजे हुने छ।
काठमाडौं–दुबईको राति ११:१५ को उडान परिवर्तन भई ९:३५ बजे तय गरिएको छ। यससँगै, अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौं आउने समय पनि परिवर्तन भएको छ।
उदाहरणका लागि, पहिले नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११:२५ मा काठमाडौंमा अवतरण हुन्थ्यो, अब ९:२५ बजे आइपुग्ने छ।



