काठमाडौं : लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस कुराको पुष्टि गर्दै टिकटकलाई नेपालमा सञ्चालनका लागि कानुनी आधार तयार भएको जनाएको छ।
सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनाइएका निर्देशिकाको मापदण्ड अनुसार टिकटकले आवश्यक सबै कागजात उपलब्ध गराएपछि कात्तिकको पहिलो सातामै दर्ता प्रक्रिया पूरा भएको हो। करीब दुई सय पृष्ठको कागजात अध्ययन पश्चात टिकटकलाई नेपालमा आधिकारिक अनुमति प्रदान गरिएको छ।
टिकटकले नेपाल सरकारद्वारा तोकिएका विभिन्न सर्तहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसअन्तर्गत नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्नेदेखि डिजिटल साक्षरता अभिवृद्धिमा सहकार्य गर्ने योजना पनि समावेश छ।
नेपालमा आधिकारिक रूपमा दर्ता भएपछि अब टिकटकमार्फत राजस्व संकलन गर्ने बाटो खुलेको छ। नेपालमा टिकटकको सञ्चालन र व्यवस्थापन भने सिंगापुरस्थित मुख्य कार्यालयमार्फत हुनेछ।



