काठमाडौं : सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँको लगानीमा थप १५ वटा बस सञ्चालनमा ल्याएको छ। यस प्रालिले काठमाडौंको उत्तरी क्षेत्रका यात्रुहरूको सेवा विस्तार गर्दै नयाँ बस सेवा सुरु गरेको हो।
सामाखुसी यातायात प्रालिको अध्यक्ष सानुकाजी प्रजापति र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रूपमा नयाँ बस सेवाको उद्घाटन गरेका छन्।
अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ बस थपिएको जानकारी दिका छन्। "काठमाडौं उपत्यकामा यात्रुको चाप धेरै छ। थप बसले यातायात व्यवस्थामा सहजता ल्याउने हाम्रो विश्वास छ" उनले भने। काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसंख्या र स्थानीय तहको माग अनुसार बस थप गरिएको उनले भने।
सामाखुसी यातायातले आफ्नो सेवा २०५७ सालमा नौ माइक्रोबसबाट सुरु गरेको थियो। भने अहिले ८० माइक्रोबस र ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको छ।
यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले प्रालिले हाल बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपी जस्ता उत्तरी क्षेत्रहरूमा सेवा दिइरहेको जानकारी दिए। साथै प्रालिले करिब ३ सय ५० चालक र सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ।
नयाँ बसहरू सञ्चालनमा आएपछि स्थानीय यात्रुहरूको यात्रा थप सहज र सुविधा सम्पन्न हुने अपेक्षा गरिएको छ।



