काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले ठूला दल कांग्रेस र एमालेले रास्वपा तथा सभापति रवि लामिछानेलाई राजनीतिक रूपमा समाप्त पार्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पोखरामा आयोजित विरोधसभामा बोल्दै अर्यालले भने "रास्वपालाई समाप्त पार्ने षड्यन्त्रको सपना कहिल्यै पूरा हुँदैन। हाम्रो पार्टी कमजोर छैन। कसैले सपना देख्दैमा रास्वपा सकिँदैन। २०८४ सालमा हामी कहाँ हुनेछौँ। त्यो तिमीहरूले देख्नेछौँ।"
उपसभापति अर्यालले रास्वपा कुनै एक व्यक्ति वा लामिछानेका लागि मात्र नभई नयाँ पुस्ताका लागि परिवर्तनको आकांक्षा बोकेर आएको पार्टी भएको बताए। उनले राजनीतिक प्रतिशोधका कारण लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउँदै सहकारी पीडितहरूको बचत रकम फिर्ता गराउन सरकार गम्भीर नभएको टिप्पणी गरे। अर्यालले रास्वपाले पीडितहरूको बचत फिर्ता गराउने अभियानको नेतृत्व गर्ने प्रतिबद्धता जनाए।
कांग्रेस महामन्त्री गगन थापालाई इंगित गर्दै अर्यालले भने "पुराना दलहरूले आफ्नो राजनीति जोगाउनका लागि रवि लामिछानेलाई बलिदानको पात्र बनाउन खोज्नु उनीहरूलाई महँगो पर्नेछ।"



