काठमाडौँ : बाढी-पहिरोका कारण भारतबाट आयात भएका आलुहरु सडक जाममा फस्दा कुहिएका छन्। असोज १० र ११ गते परेको भारी वर्षापछि विभिन्न राजमार्ग अवरुद्ध हुँदा भारतबाट ल्याइएका आलुका मालवाहक गाडीहरू सडकमै रोकिएका थि। जसले गर्दा ती आलु कुहिन थालेका हुन्।
यही कारणले गर्दा व्यापारीहरूले लाखौं रुपैयाँको घाटा व्यहोर्नु परेको छ। कुहिएका आलुहरू काठमाडौंको कालिमाटी तरकारी बजारमा ल्याइएको छ। जहाँ व्यापारीहरूले आलुलाई सुकाएर सद्दे आलु छुट्याउने प्रयास गरेका छन्।
व्यापारीहरूको गुनासो छ कि अधिकांश आलु बिग्रिएर फ्याँक्नुपर्ने भएको छ र सरकारले कुनै राहत उपलब्ध नगराएको अवस्था छ।
भारतको गुजरात र पंजाबबाट नेपालमा आयात गरिने आलु सामान्यतया प्रति केजी ५७ देखि ५८ रुपैयाँ पर्छ। तर वर्तमान अवस्थाका कारण धेरै आलु बिग्रिएकोले व्यापारीहरूले घाटा सन्तुलन गर्न केही महँगो मूल्य राख्नुपरेको बताएका छन्। व्यापारी सन्तोष अवस्थीले व्यक्तिगत रूपमा तीन लाख रुपैयाँको क्षति भएको र अन्य व्यापारीहरूको पनि थप नोक्सान भएको जानकारी दिएका छन्



