काठमाडौँ : विश्व बैंकको सहयोगमा तनहुँ जिल्लाका दुई सडक स्तरोन्नतिको कामले गति लिएको छ। पहिलो सडक शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा लीलाचोक मार्ग हो भने दोस्रो सडक व्यास नगरपालिकाको पराशर मार्ग हो। यी दुबै सडकको स्तरोन्नतिको लागि निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
शुक्लागण्डकी–४ दुलेगौडाबाट लीलाचोकसम्मको ७.१ किलोमिटर खण्डमा नगरपालिकाले विश्व बैंकको सहयोग र सरकारको अनुदानमा कालोपत्र सुरु गरेको छ। निर्माण कम्पनीसँग २७ करोड ३४ लाख रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ। जुन १५ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ। यस सडकले शुक्लागण्डकीका ४, ८, ९, र १२ वडालाई जोड्नेछ।
यसैगरी, व्यास नगरपालिकाको चार वडा जोड्ने १०.५५ किमी लामो सडकको स्तरोन्नति पनि भइरहेको छ। बुल्दीखोला-बेलटारी-फराकचौर हुँदै कलेस्ती जोडिने यो सडकको स्तरोन्नतिको लागि ४० करोड ८३ लाख रुपैयाँको सम्झौता भइसकेको छ र २०८२ असारसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।
यस परियोजनाहरूले स्थानीय जनतालाई यातायातमा सहजता पुर्याउने अपेक्षा गरिएको छ।



