काठमाडौँ : स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दैनिक करिब ३० हजार दाबी पर्ने गरेको पाइएको छ। तर तीमध्ये बोर्डले दैनिक मात्र ८ हजारदेखि १० हजारसम्मको दाबी परीक्षण गर्न सक्ने क्षमता राखेको छ।
स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको ‘स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०८१।८२–२०८६।८७’ अनुसार सेवाप्रदायकलाई समयमा शोधभर्ना गर्न कठिनाइ भइरहेको प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ।
मार्गचित्रमा सेवाप्रदायक संस्थाहरूले फार्मेसीबाट औषधि र औषधिजन्य सामग्री उपलब्ध गराउन नसक्दा सेवाग्राहीहरूबीच स्वास्थ्य बीमाप्रति असन्तुष्टि बढिरहेको उल्लेख छ। करिब ४ सय स्थानीय तहमा स्वास्थ्य बीमा सेवा उपलब्ध नहुँदा नागरिकहरूलाई सजिलै सेवा प्राप्त गर्न कठिनाइ भइरहेको पाइएको छ। जसका कारण कार्यक्रमको आबद्धता बढाउन पनि चुनौती भएको छ।
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम २०७२ सालदेखि सुरु भए पनि हालसम्म बोर्डको स्थायी संरचना स्वीकृत भइनसकेकोले व्यवस्थापकीय समस्याहरू देखा परेका छन्। औपचारिक क्षेत्रलाई बीमाको दायरामा ल्याउन नसक्दा वित्तीय दिगोपनामा समस्या आएको छ।
मार्गचित्रमा बीमितहरूको गुणस्तरीय स्वास्थ्य सेवाप्रति असन्तुष्टि रहेको र त्यसका कारण नयाँ आबद्धता र नवीकरणमा कमी देखिएको उल्लेख गरिएको छ। स्वास्थ्य सेवा खरिद प्रणालीमा स्थिरताले रोग निदान, उपचार र प्रेषणमा अनावश्यक दबाब सिर्जना गरेको र सेवाप्रदायकहरूले नियमअनुसार सेवा प्रवाह गर्न नसक्दा औचित्यपूर्ण उपचारमा समस्या उत्पन्न भएको पनि पाइएको छ।



