काठमाडौँ : सरकारले दशैं लगायत चाडपर्वलाई लक्षित गर्दै बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरी उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु, र सूर्यविनायकमा बिक्री कक्ष स्थापना गरेको छ। ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो। जुन आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको छ। जसअनुसार चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ छुट, तेलमा प्रतिलिटर ५ रुपैयाँ छुट, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, र क्वाँटीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइनेछ।
कम्पनीले कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा, र जुम्ली मार्सीमा पनि प्रतिकिलो ७ रुपैयाँ छुट दिएको छ। चाडपर्वलाई लक्षित गरी जिउँदो खसी–बोका, च्यांग्रा, र डीडीसी घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ।
कम्पनीले मकवानपुर र तुल्सीपुर लगायत स्थानबाट १ हजार ५ सय वटा खसी–बोका ल्याउनेछ भने मुस्ताङको कालो च्यांग्रा ३ सय वटा ल्याउने योजना छ। च्यांग्रा र खसी–बोका कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा मात्रै उपलब्ध हुनेछ।
चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले कम्पनीलाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सहुलियत पसल आगामी २ माघसम्म सञ्चालन हुनेछ।
कुन-कुन समानमा कति छुट हेर्नुस :



