काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न आज १ खर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ। बैंकहरूमा पैसा थुप्रिएकाले राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट यो रकम तान्ने तयारी गरेको हो। यस प्रक्रियामा वाणिज्य, विकास र वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। जहाँ उनीहरूले प्रस्तावित व्याजदरका आधारमा प्रतिस्पर्धा गर्नुपर्नेछ। बोलकबोलमा सबैभन्दा कम व्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकता दिइनेछ।
राष्ट्र बैंकले २१ दिनका लागि यो निक्षेप संकलन गर्ने योजना बनाएको छ र असोज २० गते बैंकहरूलाई मूलधन र व्याजसहित भुक्तानी गरिनेछ। बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणनमा रकम प्रस्ताव गर्न सक्छन्। यस निक्षेपलाई बैंकहरूले अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा पनि प्रयोग गर्न सक्नेछन्। जसले गर्दा यसले बैंकहरूबीचको तरलता व्यवस्थापनमा सहजता ल्याउनेछ।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा निक्षेप ६४ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ भने कर्जा प्रवाह ५२ खर्ब ९ अर्ब रुपैयाँ मात्रै छ। बैंकहरूको कर्जा निक्षेप अनुपात (CD Ratio) ७८.८० प्रतिशत रहेको छ र अधिकतम ९० प्रतिशतसम्म पुग्न सक्छ। कर्जाको माग न्यून रहेकाले बैंकहरूमा तरलता बढी भएको छ, जसले गर्दा राष्ट्र बैंकले यो कदम चालेको हो।
बैंकहरूले अझै पनि ११.२० प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने भए पनि कर्जाको माग घटेकाले बैंकहरूमा नगदको मात्रा अत्यधिक भएको छ। यस स्थितिलाई व्यवस्थित गर्न राष्ट्र बैंकले एकैपटक ठूलो मात्रामा रकम तान्ने निर्णय गरेको हो। जसले बैंकहरूको तरलता सन्तुलनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



