काठमाडौँ : महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच र लगानीको आधार निर्माण गर्ने उद्देश्यले एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार कृषि, कृषि आपूर्ति, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला, र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रका साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच अभिवृद्धि र लगानीको आधार निर्माण गर्न साझेदारी गरिनेछ। यसका साथै, प्रतिस्पर्धात्मक क्षमताको विकास र आर्थिक प्रतिकूलताका समयमा पनि सञ्चालन सक्षमताको वृद्धि गर्न सहमति गरिएको छ।
यस अन्तर्गत, अध्यान्ता फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमहरूको वित्तीय लगानी, बजार विस्तार, व्यवसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनितिको निर्माण, अनुपालना, र सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग प्रदान गर्नेछ।
महालक्ष्मी विकास बैंकले भने नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन र बैंकको नीतिअनुसार साना तथा मझौला उद्यमहरूको पूँजी पहुँच सहज बनाउन वित्तीय सेवा, प्रतित पत्र र विदेशी विनिमय व्यवस्थापन जस्ता सेवाहरू प्रदान गर्नेछ। यस सम्झौताबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।
साथै २०८० पुष २८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।



