काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३१ लाख ३९ हजार, ब्याज छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु एक करोड ९२ लाख ८४ हजार र अन्य रु दुई लाख ४१ हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
आव २०८०–८१ मा कार्यालयलाई ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व संकलन भएको उहाँले बताउनुभयो । आव २०७९-८० को तुलनमा गत आवमा कम राजस्व संकलन भएको उहाँको भनाइ छ ।
आव २०७९–८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व संकलन भएको थियो । गत आवमा अन्तशुल्कतर्फ मात्र ३६ अर्ब राजस्व संकलनको लक्ष्य प्रदान गरिएको थियो ।



