काठमाडौं :गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितहरुलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो ।
गृहमन्त्री लेखकले मृतकका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको बताउनु भयो । विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिई ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताउनु भयो ।
उहाँले विपद्मा परी १३० जनाको मृत्यु भएको र घाईते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको पनि जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी वेपत्ता भएकाहरुको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसदलाई जानकारी गराउनु भयो ।।



