काठमाडौं : सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो ।
रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
मलङ्गवा नगरपालिका–४, पुख्र्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका–१ स्थित खेतसँगैको घर (फार्म हाउस)मा गएराति धारिलो हतियार प्रहारगरी हत्या भएको थियो ।



