भद्रपुर : आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु ३ अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख ९ हजार राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले आव २०७९/८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु ३ अर्ब १ करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । गत आवमा कार्यालयको रु ३ अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।
“देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हा”, उहाँले भन्नुभयो ।
आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट रु तीन करोड ६४ लाख, ब्याजबापत रु ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत रु १ अर्ब २९ करोड ५ लाख लाख तथा अन्तःशुल्कबापत रु ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताउनुभयो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत रु १ अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो ।



