नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या भएको छ। विद्युत्को माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत् अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युत्सँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले तदारुकताका साथ तत्काल समस्या समाधानको पहल गरिरहेको बताउनुभयो। उहाँले विद्युत् अनियमित हुन नदिन वितरण केन्द्रले चारवटा ‘सर्किट’ मार्फत विद्युत् आपूर्ति गरिरहेको उहाँले जानकारी दिनुुभयो।
“हुरी तथा ओभरलोडका कारण हुने समस्या समाधानका लागि तत्काल मर्मतका काम गरिरहेका छौँ, बिग्रेका र पुराना ट्रान्सफर्मर बदल्न एक सय ५० नयाँ ट्रान्सफर्मर माग भरेका छौँ, त्यसपछि केही सजिलो हुनेछ। साथै विद्युत् अनियमित नहोस् भनेर भारतबाट समेत विद्युत् आपूर्ति गर्न स्विच जडान गरिएको छ”, उहाँले भन्नुभयो।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत् अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै एउटा समिति बनाएको छ। अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा गठित समितिले बिहीबार नेपालगञ्ज र कोहलपुर वितरण केन्द्रसँग लिखितरूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने, विद्युत् नियमित गर्नका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय पहिचान गर्ने निर्णय गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ।



