काठमाडौँ : टोखा नगरपालिकाले विष्णुमति करिडोर निर्माणलाई प्राथमिकता दिएसँगै केही दिन अघि मात्र काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले टोखा नगरपालिकाको नाममा पत्राचार गरी तत्काल विष्णुमती करिडोरमा २० मिटरको सडक निर्माण गर्न र घर/टहरा हटाउन निर्देशन दिएको थियो।
लामो समयदेखि गोंगबु बसपार्क क्षेत्रमा रहेका कपडा पसलका टहरा, सामुदायिक भवन र घर भत्काउने कार्यलाई नगरपालिकाले सुरु गरेको छ।
नगर प्रमुख प्रकाश अधिकारीको भनाईअनुसार नयाँबसपार्क नजिक रहेको विष्णुमती किनारका टहरा पसलहरु पनि तत्कालै खाली गरेर २० मिटरको बाटो निर्माण गरिने बताएका छन्। नगर प्रमुख अधिकारीले विष्णुमती किनारमा २० मिटरको सडकबाट नयाँबसपार्क हुँदै साङला र बुढानिलकण्ठ जाने बाटो निर्माण नै नगरपालिकाको प्रमुख एजेण्डा भएको बताएका छन्।
टोखा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले सुन्दर र सफा हरियाली टोखा निर्माणमा नगरपालिकाले अनाधिकृत घर/टहरा हटाउनुका साथै सार्वजनिक जग्गा संरक्षणलाई पहिलो प्राथमिता दिएको छ। खाली गरिएका जग्गाहरुमा पार्क र सडक निर्माणमा प्रयोग गरिने बिसीले बताउनुभयो।
टोखाले वडा नं. ११ को विष्णुमती करिडोरका घर/टहरा स्थानीयलाई नै हटाउन लगाएको छ। नगरपालिकाले सार्वजनिक जग्गाहरुमा पार्क र करिडोर क्षेत्रमा २० मिटरको पक्की सडक निर्माणमा जोड दिएको छ।
आजको कायृक्रममा जनप्रतिनिधिहरु, कर्मचारी, नगर प्रहरि, नेपाल प्रहरि, सशस्त्र प्रहरि र स्थानीयको सहभागितामा वडा नं. ९ मा घर/टहरा हटाउने कार्य भएको थियो।
टोखा ९ का स्थानीयबासीहरू भन्छन् - नगरपालिकाले अझै कपडा पसलका टहराहरु हटाउन सकेको छैन, त्यो नहटाएसम्म हामीलाई नगरपालिकाले गर्छ भन्ने विश्वास छैन। जब ती मुखैका कपडाका टहरा पसलहरु हटेको दिन हामीले मेयरको जय–जयकार गर्दै हिँड्छौं।



