काठमाडौँ : नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र प्रभु बैंकबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान हस्ताक्षर गर्नु भएको थियो।
प्रभु बैंक र नेपाल क्लिरिङ हाउस (एनसिएचएल) विच आज सम्पन्न सम्झौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रूपमा रू १५ हजार र मासिक रू १ लाखसम्म भारतीय रूपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ।
यसैगरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआई इनबिल्ट एपहरू प्रयोग गरी त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको युपिआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाइएको छ।
हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार २ लाख भारतीय रूपैयाँसम्म र खाता नभएको खण्डमा एक वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोबार ५० हजारसम्म भारतीय रूपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ।
यो अन्तर्देशीय विद्युतीय भुक्तानी सेवामा आबद्ध ग्राहकहरूले नेपाल तथा भारतीय नियामक निकायद्वारा तोकिएको सीमा बमोजिमको रकम सहजै अन्तर्देशीय कारोबार भुक्तानी गरी अधिकतम लाभ उठाउन सकिने बैंकले विश्वास लिएको छ।



