असोज १,काठमाडौं : रियल मड्रिडले स्पेनिस लिगमा सानदार जितको नतिजालाई कायम राखेको छ। आइतबार राति रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २–१ को जित निकालेको हो। जीतसँगै सिजनमा शत प्रतिशत नतिजा राखेर रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
जितपछि ५ खेलमा रियलको १५ अङ्क रहेको छ भने सोसिडाडले ५ खेलबाट ६ अङ्क बटुल्दै लिगको ११ औँ स्थानमा सीमित छ।
खेलमा अग्रता पाहुना टोलीले पाँचौ मिनेटमा बारेनाट्याक्सियाको गोलमा लिएको थियो। न्युक्यासल र स्टक सिटीका पूर्व फरवार्ड जोसुलुले ६० औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाए । फरान गार्सियाको क्रसलाई सदुपयोग गर्दै जोसुलुले रियलका लागि विजयी गोल गरेका थिए। दोस्रो हाफको सुरुआतमै भाल्भर्डेले घरेलु टोली रियलका लागि बराबरी गोल फर्काएका थिए।
अन्य खेलमा गेटाफेले ओसासुनालाई ३–२ गोलले हराएको छ भने भिल्लारियाले अल्मेरियालाई २–१ तथा सेभियाले लास पालामासलाई १–० गोले पराजित गरेको छ।



