भदौ २९,काठमाडौं :न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षमा शुक्रबार बसेको परिषद्को बैठकले २७ जनाको नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।
परिषद्ले न्याय सेवा, कानुन सेवा र सरकारी वकिल, जिल्ला न्यायाधीश र कानुन व्यवसायी मध्येबाट २७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो।
सिफारिस हुनेमा १८ जना जिल्ला न्यायाधीश छन्। यस्तै, ६ जना कानुन व्यवसायी छन्। सिफारिस हुने अन्यमा न्याय सेवा, कानुन सेवा र सरकारी वकिल समूहका छन्।
लामो समयदेखि उच्च अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको थिएन। २०७८ सालदेखि रोकिएको न्यायाधीश नियुक्तिको गाँठो प्रधानन्यायाधीश श्रेष्ठले फुकाएका हुन्। यो सँगै अब उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्चसम्म नियुक्तका लागि सिफारिस सुरु हुने देखिन्छ।




