साउन१८,काठमाडौं :बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किनु भएको छ ।
गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक महिना पछि पुनः काममा फर्किनु भएको हो । उहाँले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू काममा फर्किएकोबारे जानकारी गराउनु भयो ।
एमालेबाट निर्वाचित शाहले आफ्नो वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आउनु भएको थियो ।र । आफ्नै पार्टीबाट निर्वाचित मेयरले आफूले मागेका योजनामा बजेट नदिएको भन्दै उहाँले असार १२ गतेको नगरसभाका क्रममा राजीनामा बुझाउनु भएको थियो ।
राजीनामा पत्रमा उहाँले वडावासीको चाहना अनुसार काम गर्न नसकेकाले आत्मग्लानि भएको उल्लेख गर्नुभएको थियो । मेयर चौधरीले भने वडाध्यक्ष शाहको राजीनामा स्वीकृत गर्नु भएको थिएन । मेयर चौधरीले उहाँलाई पटक–पटक काममा फर्कन आग्रह गर्दै आउनु भएको थियो ।



