साउन ९,काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताउनु भएको छ।
प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो। अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको र ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउने उहाँको भनाई छ। तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिय अघि बढाइने उहाँले बताउनु भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढंगबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गर्नु भयो। उहाँले भन्नु भयो, ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइदैन’
भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताउदै आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरि समृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको उहाँले बताउनु भयो। पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठको भनाई छ।



