साउन ८, काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो।
उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ। ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिको नाममा गएको देखिएको छ। सरकारी जग्गा हडपेको पाइएपछि प्रहरीले पुन: अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।



