काठमाडौँ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैङ्कले व्यावसायिक कुशलतासहित निजी क्षेत्रका बैङ्कसँग प्रतिस्पर्धा गरिरहेको छ।
विसं २०८० असार मसान्तसम्ममा बैङ्कको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ। बैङ्कको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको ०.०३ प्रतिशत शेयर रहेको छ। बैङ्कको पुँजी कोष रु ५० अर्ब ७४ करोड रहेको छ।
गत असार मसान्तसम्ममा बैङ्कको निष्क्रिय कर्जा अनुपात ३.७७ प्रतिशत छ। गत पुस मसान्तसम्ममा बैङ्कमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु ३ खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ। कर्जातर्फ १ लाख ९४ हजारभन्दा बढी ग्राहकलाई रु रु २ खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैङ्कले जनाएको छ।
राष्ट्रिय वाणिज्य बैङ्कले आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ। गत आर्थिक वर्ष २०७९/८० मा बैङ्कले रु ३ अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो। गत वर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैङ्कको सूचीमा राष्ट्रिय वाणिज्य बैङ्क दोस्रो स्थानमा छ। गत वर्षमा आर्जित मुनाफाबाट बैङ्कले ५.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
नेपालको कूल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यस बैङ्कबाट हुने गरेको दाबी बैङ्कको छ। सङ्घीय सरकारका कूल ८१ कोष तथा लेखा नियन्त्रक कार्यालयमध्ये ५० वटा, प्रदेश सरकारका ७७ मध्ये ५१ र १२८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैङ्कबाट भइरहेको छ। सरकारको राजस्व सङ्कलन प्रयोजनका लागि बैङ्कले विभिन्न ठाउँमा शाखा तथा काउन्टरसमेत विस्तार गरेको छ।



