काठमाडौँ : माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भाग दौड हुँदा आठ जना घाइते भएका छन्। टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबिच भाग दौड हुँदा उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो।
उपरीक्षक ढुङ्गेलले भन्नुभयो, “आज टुँडिखेलमा ठुलो सङ्ख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए। भीडमा भाग दौड हुँदा आठ जना घाइते भएका छन्।” घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उहाँको भनाइ छ। महोत्सवमा स्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ।



