काठमाडौँ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुने भएका छन्। मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९ : १५ बजे सुरु हुने छ। अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोसी प्रदेशबिच बिहान ९ : १५ बजे सुरु हुने छ।
आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच अहिले बिहान ९ : ०० बजे सुरु हुने छ। मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ। मधेसले शनिवार सम्पन्न खेलमा कोसी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो। यस्तै, आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ।
यसै गरी एपिएफ क्लब अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ। एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो। कोसी प्रदेश भने पहिलो खेलमा मधेससित सात विकेटले हारेको थियो। यस्तै, लुम्बिनी प्रदेश अङ्क तालिकाको चौथो स्थानमा छ। लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको थियो। सुदूरपश्चिम प्रदेश भने आज पहिलो खेल खेल्न लागेको हो।



