काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट आएको छ । आइतबार बजार सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.११ अंकले गिरावट हुँदा १८७०.६५ अंकमा बन्द भएको हो ।
आइतबार नेप्से कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ र २६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आइतबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएका छन् ।आइतबार नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही वृद्धि हुँदा ९५ करोड ४३ लाख पुगेको छ । आइतबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ४ करोड २५ लाख रुपैयाँ भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँ र तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आइतबार कारोबार भएकामध्ये एनएमबी सुलभ इन्भेष्टमेन्ट २ को इकाईमूल्य सर्वाधिक ३.३३ प्रतिशतले बढेको छ , भने एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ८.८९ प्रतिशतले गिरावट भएको छ ।



