काठमाडौं : नेकपा एमालेले अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरीले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन भएको बताउनु भएको छ ।
माओवादीको अयोग्य लडाकुका नाममा ४८ सय व्यक्तिलाई राज्य कोषको ढुकुटीबाट दुई-दुई लाख नगद निकालेर बाँड्ने चलखेल हुँदै छ । कार्यविधि बनाएर पैसा बाँडिदैछ भन्ने सुनिएको छ,”उहाँले भन्नु भयो ।
उहाँले सत्य निरुपणको बाँकी काममा सरकारलाई ध्यान नभएको बताउदै तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको बताउनु भयो । लडाकुलाई कार्यविधि बनाएर आर्थिक सहयोग गर्ने निर्णय गत चैत ६ को मन्त्रिपरिषद बैठकले गरेको थियो । गृह मन्त्रालयले गत वैशाख ६ गते लडाकुका लागि राहत दिनेसम्बन्धी कार्यविधि नै जारी गरेको थियो।



