काठमाडौँ : शुक्रवार दिउँसो ललितपुरको ग्वार्को–बालकुमारी घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने भएको छ। बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने भएको हो।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो। शुक्रवार कोरियाली भाषा परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।