काठमाडौं : साताको तेस्रो कारोबार दिन आज मङ्गलवार सेयर बजार दोहोरो अङ्कले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १७.२३ अङ्क घटेर २०७०.८४ विन्दुमा झरेको छ। त्यसै गरी, आज सेन्सेटिभ इन्डेक्स ४.२५ अङ्क र फ्लोट इन्डेक्स ०.४३ अङ्क घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३२ अङ्क बढेको छ।
त्यसै गरी, नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। नेप्से घटे पनि आज ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ, चरिख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बिपिडब्लु लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बिमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, आज होटल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
गत आइतबार ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३०७ स्टकको १ लाख १७ हजार ४७६ पटकको कारोबारमा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा १९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसै गरी, आज शिवम सिमेन्ट्सको साढे १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सूर्या ज्योति लाइफ इन्स्योरेन्स र हाथवे इन्भेस्टमेन्टको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।