काठमाडौं : सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले घटेको छ । मंगलबार उचारचढावबीच अन्तिम समयमा दोहोरो अंकले बढेको नेप्से बुधबार नै पुनःघटेको हो । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.६८ अंकले गिरावट हुँदा १८९२ को विन्दुमा बन्द भएको छ ।
बुधबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि दोहोरो अंकले ओरालो लागेको हो ।विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसूचकमा १ प्रतिशत भन्दा बढीले घटेको छ । पछिल्लो ९ दिनमा कारोबार नेप्सेमा कुनै पनि दिन १ अर्बको कारोबार पुग्न सकेको छ ।
बुधबार नेप्सेमा २५ लाख ७१ हजार २०२ कित्ता सूचीकृत धितोपत्र किनेबच हुँदा ८४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड २ लाखको कारोबार हुँदा तारागाउँ रिजेन्सी होटलको करिब ३ करोड ९१ लाख र एभरेष्ट बैंकको करिब ३ करोड १८ लाखको कारोबार भएको छ । बुधबार नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ४० कम्पनीको मात्रै सेयरमूल्य बढेको छ ,भने, १७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
बुधबार कारोबार भएकोमध्ये जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक ३.२५ प्रतिशतले वृद्धि हुँदा उपकार लघुवित्तको सेयरमूल्य २.२७ प्रतिशत र ग्रामिण विकास लघुवित्तको सेयरमूल्य २.१८ प्रतिशतले वृद्धि भएको छ । यस्तै कुमारी इक्विटी फण्डको इकाइमूल्य २.५१ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाइमूल्य २.३० प्रतिशतले बढेको छ । सनराइज ब्लुचिप फण्डको इकाइमूल्य सर्वाधिक ९.१२ प्रतिशतले घटेको छ । सूचीकृत कम्पनीमा तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ७.११ प्रतिशतले गिरावट हुँदा मानुषी लघुवित्तको सेयरमूल्य ५.४३ प्रतिशत र गुराँस लघुवित्तको सेयरमूल्य ५.१३ प्रतिशतले घटेको छ ।



