काठमाडौँ : हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्कासन गरेको आइपिओ बुधवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पुस ११ गते बुधवार बिहान १० बजे बालुवाटारमा सेयर बाँडफाँडका कार्यक्रम तय गरिएको हो। हिमालयन रिइन्स्योरेन्सको आईपीओमा आवेदन दिएका योग्य सबै आवेदकले सेयर हात पार्ने भएका छन्।
कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ। कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ जुन माग भन्दा १.२९ गुणा बढी हो।
कम्पनीको आइपिओ सबै आवेदकले न्यूनतम १० कित्ता पाउने निश्चित छ भने बाँकी रहेको कित्तामा गोला प्रथा मार्फत बाँडफाँट हुनेछ। हिमालयन रिइन्स्योरेन्स नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो।
कम्पनीले मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो। अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो।



