काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले बिहान पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।
यस्तै, महाशाखाका अनुसार ‘अहिले सबै प्रदेशमा बादल लागेको अवस्था छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। भोलि (सोमबार) कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभरीको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।



