काठमाडौं : प्रभु हेलिकप्टर लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा आईपीओ निष्काशन गर्ने पहिलो हेलिकप्टर कम्पनी हुने छ। आईपीओ निष्काशनको प्रक्रियाका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।
उक्त सम्झौतापत्रमा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले ६ करोड ६० लाख शेयर पूँजी बराबरको रु.१०० अंकित दरको ६,६०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने भएको हो।
कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो। हाल कम्पनीले एयर बस कम्पनी द्वारा निर्मित एयरबस एच १२५ र रोबिन्सन कम्पनी द्वारा निर्मित रोबिनसन आर 66 हेलिकप्टरहरुबाट हवाई सेवा प्रदान गरिरहेको छ।
कोभिड–१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तिब्र गतिको माग भएकोले यस कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरुको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना राखेको जनाएको छ ।