काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।
यस्तै, महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार मंगलबार र बुधबारसम्मै आंशिक बदली रहने तर वर्षा र हिमपातको सम्भावना छैन।
महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।



