काठमाडौँ : हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ। कम्पनीले खुला गरेको आइपीओमा पर्याप्त आवेदन नपरेपछि पुस ११ गतेसम्मका लागि समय थप गरिएको हो। यद्यपि, आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ।
सीडीएससीका अनुसार शनिबार साँझ ५ बजेसम्ममा ११ लाख ५६ हजार ४३४ जना आवेदकले २ करोड ८ लाख ९५ हजार ७६० कित्ताका लागि आवेदन दिएका छन्।
कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ।
त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर सर्वसाधारणले कम्तिमा १० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।
हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ।



