२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

images

  • २०८० मंसिर २२, शुक्रबार
  • 1.1K
    SHARES
  • जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

    काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ। आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले राससलाई जानकारी दिनुभयो।

    उहाँका अनुसार कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ। यसैगरी कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कैलाशचौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ।

    बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ। पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि नेपाली सेना तथा पशुपति क्षेत्र विकास कोषको सहयोगमा निःशुल्क पालको व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो।

    उहाँका अनुसार आफैँ उपस्थित भई बत्ती बाल्न नसक्नेका लागि कोषमा रु दुई हजार एक सय शुल्क बुझाई बत्ती बालिदिने व्यवस्थासमेत मिलाइएको छ। त्यस्ता भक्तजनले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकामा रहेको पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने छ।

    बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाँड–रक्सी र अन्य नशालु पदार्थ सेवन तथा बिक्री-वितरणमा रोक लगाइएको छ। बालाचतुर्दशी पर्व आउँदो सोमबार अर्थात् यही मङ्सिर २४ गतेबाट सुरु हुँदैछ। आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ।

    पशुपतिनाथमा लाग्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानाबाट पश्चिम, गौशाला तिलगङ्गा चक्रपथबाट उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीबाट दक्षिण भित्रका सबै भागमा यही मङ्सिर २७ गते सम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसार  पसार, भण्डारण र सेवनमा पूर्ण रूपमा रोक लगाइएको कोषका सदस्य सचिव खत्रीले बताउनु भयो। 

    उहाँले भन्नुभयो, “बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै हामीले जिल्ला प्रशासन कार्यालयमार्फत भगवान् पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, उक्त सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने छ।”

    यसैगरी बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्क (१३ हजार स्क्वाएर फिट) टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको सदस्यसचिव खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “बालाचतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाइएको छ, भक्तजनलाई कुनै समस्या आउन दिइने छैन।”

    पशुपतिनाथमा यही मङ्सिर २४ र २५ गते लाग्ने बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएको पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा. खतिवडाले बताउनु भयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ