मङ्सिर १९,काठमाडौं : नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/८० मा खुद नाफा ४१.३४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नेपाल सरकारलाई २५ अर्ब दिने भएको छ।
गत आर्थिक वर्षमा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा कमाएको राष्ट्र बैंकले विभिन्न कोषमा रकम छुट्याएर २५ अर्ब रुपैयाँ नेपाल सकारलाई हस्तान्तरण गर्ने भएको हो। आर्थिक वर्ष २०७८/७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा केन्द्रीय बैंकको नाफा पनि बढेको हो।
आर्थिक वर्ष (आव) २०७९/८० को बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण भएको वार्षिक प्रतिवेदन सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ८६.५७ प्रतिशतले वृद्धि भई ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार कायम भएको छ। अब २०७८/७९ मा यस्तो आम्दानी ३५ अर्ब ८७ करोड २१ लाख ४७८ हजार थियो।
आर्थिक वर्ष २०७९/८० को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ११२.८१ प्रतिशतले वृद्धि भई ६० अर्ब ४८ करोड २४ लाख ०१ हजार कायम भएको छ। यस्तो खुद आय आर्थिक वर्ष २०७८/७९ मा २८ अर्ब ४२ करोड ७ लाख ६८ हजार रहेको थियो।
वैदेशिक मुद्राबाट प्राप्त ब्याजमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी ३५ अर्ब ८७ करोड २१ लाखबाट बढेर ६६ अर्ब ९२ करोड ७१ लाख पुगेको छ। यस्तो सुनको पुनः मुल्याङ्कनबाट १७ अर्ब ११ करोड तथा वैदेशिक मुद्राको पुनः मुल्याङ्कनबाट १० अर्ब बराबरको आय भएको हो। ५ अर्ब चुक्ता पुँजी रहेको बैंकमा ७६ अर्ब १२ करोडको साधारण जगेडा कोष र ८१ अर्ब ३० करोड बराबरको अन्य जगेडा कोष रहेको छ।
राष्ट्र बैंकको खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३.४९ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ३.६३ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश २.८८ प्रतिशत रहेको छ। खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८६.०९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड २५ लाख ४८ हजार कायम भएको छ।
विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी १९.७६ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड २६ लाख कायम भएको छ। त्यसैगरी, अन्य आम्दानी १ अर्व ९२ करोड १९ लाख ८३ हजार कायम भएको छ।



