काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेका बेला निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले हालकै बिक्री मूल्यलाई निरन्तरता दिएको हो।
निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट २०८३ असोज २९ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्नुपर्ने अवस्था रहे पनि तत्कालका लागि मूल्य नबढाउने निर्णय गरिएको जनाएको छ।
कुन पेट्रोलियम पदार्थको मूल्य कति?
निगमले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ निर्धारण गरिएको छ।
आन्तरिक हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम छ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहने निगमले जनाएको छ।
मूल्य स्थिर राख्दा पनि निगमलाई अर्बौं घाटा
पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णयले उपभोक्तालाई तत्काल मूल्यवृद्धिको भारबाट जोगाए पनि निगमको आर्थिक अवस्था भने दबाबमा रहने देखिएको छ। निगमका अनुसार हाल कायम बिक्री मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा पाक्षिक रूपमा करिब ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने अनुमान छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य र आईओसीबाट प्राप्त खरिद दरमा हुने परिवर्तनले नेपालको पेट्रोलियम आपूर्तिको लागतमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।