काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३५ रन बनाएको हो।
नेपालको इनिङ्समा कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै शतक पूरा गरे। उनले १ सय २७ बलमा १ सय १ रन बनाए। यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको तेस्रो शतक हो।
त्यस्तै, गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन जोडे। उनको प्रदर्शनले नेपालको स्कोर बढाउन महत्त्वपूर्ण योगदान पुर्यायो। क्यानडाका अखिल कुमार र सुखजिन्दर सिंहले समान तीन–तीन विकेट लिएका थिए।
नेपालले यस शृङ्खलामा क्यानडा र आयोजक ओमानसँग दुई–दुई खेल खेल्ने तालिका छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालका लागि यी खेल निकै महत्त्वपूर्ण छन्।
लिग–२ मा ३२ खेल खेलेको नेपाल २४ अङ्कसहित सातौँ स्थानमा छ। बाँकी चार खेलमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालले शीर्ष ६ मा पुगेर एकदिवसीय मान्यता कायम राख्ने सम्भावना बनाउन सक्छ। यद्यपि, लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप छनोटमा सीधा प्रवेश गर्ने नेपालको सम्भावना समाप्त भइसकेको छ। अब विश्वकप छनोटमा पुग्न नेपालले प्लेअफको बाटो अपनाउनुपर्नेछ।
नेपालले सन् २०१८ मा जिम्बाब्वेमा आयोजित विश्वकप छनोट प्रतियोगिताबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो। अब बाँकी खेलमा उत्कृष्ट नतिजा निकाल्दै उक्त मान्यता जोगाउनु नेपालका लागि मुख्य चुनौती बनेको छ।