२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नबिल बैंकको ४२औँ साधारणसभाबाट लाभांश पारित, तीन सञ्चालक निर्विरोध निर्वाचित

images

  • २०८३ असोज २३, शुक्रबार
  • 301
    SHARES
  • नबिल बैंकको ४२औँ साधारणसभाबाट लाभांश पारित, तीन सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं : नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि ८ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।

    बोनस शेयरपछि चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी

    आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गरिने बोनस शेयरपछि नबिल बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ। सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि प्रस्ताव गरिएको लाभांश साधारणसभाबाट अनुमोदन भएको हो।

    बैंकले समीक्षा आर्थिक वर्षमा ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ। यस अवधिमा निक्षेप दायित्व १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप ६९ अर्ब ६७ करोड रुपैयाँले वृद्धि भएको बैंकले जनाएको छ।

    त्यस्तै, बैंकको कर्जा तथा सापटी १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ अर्ब ६८ करोड रुपैयाँ बढी हो। बैंकको कुल वासलातको आकार पनि १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

    संस्थागत सुशासन र ग्राहक सन्तुष्टिमा जोड

    साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन, ग्राहक सन्तुष्टि र आधुनिक बैंकिङ सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

    बैंकले शेयरधनी, ग्राहक, कर्मचारी, नियामक निकाय तथा अन्य सरोकारवालाको हित र अधिकारलाई सम्मान गर्दै सन्तुलित ढंगले अघि बढिरहेको उनको भनाइ थियो। साथै, सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई पनि बैंकले निरन्तरता दिँदै आएको उनले उल्लेख गरे।

    तीन सञ्चालक निर्विरोध निर्वाचित

    साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।

    बैंक स्थापनाको समयको तुलनामा यसको चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको जनाइएको छ। चार दशकभन्दा लामो समयदेखि बैंकिङ सेवा दिँदै आएको नबिल बैंकले आफ्नो सेवा विस्तार र प्रविधिमा आधारित बैंकिङलाई समेत प्राथमिकता दिँदै आएको छ।

    २६२ शाखा र ३१६ एटीएममार्फत सेवा

    नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहक यसका बैंकिङ सेवासँग जोडिएका छन्। डिजिटल बैंकिङलाई विस्तार गर्ने उद्देश्यले बैंकले एनबैंक सञ्चालनमा ल्याएको छ। साथै, सन् २०३० सम्म कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका लागि तयार बैंक बन्ने लक्ष्यसमेत अघि सारेको छ।

    बैंकले आफ्नो भिजन तथा मिसनलाई नयाँ स्वरूप दिँदै ट्रष्ट (विश्वास), ट्रान्सपरेन्सी (पारदर्शिता), ट्यालेन्ट (प्रतिभा), टेक्नोलोजी (प्रविधि) र ट्रान्सफरमेसन (रूपान्तरण) गरी पाँच ‘टी’ मा आधारित अवधारणालाई प्राथमिकता दिएको छ।

    यस वर्षको साधारणसभाको उद्घाटन कार्यक्रममा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो। साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा अन्य सम्बद्ध पक्षलाई बैंकले धन्यवाद व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ