काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसाको आधारमा २४ करोड ३६ लाख ९७ हजार १ सय २ रुपैयाँ ४७ पैसा नगद लाभांश वितरण गरिनेछ। उक्त नगद लाभांशमा करसमेत समावेश छ।
त्यसैगरी, १४ करोड ९३ लाख ६२ हजार ७ सय ४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २ सय ४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।
साधारण सभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ। संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा सञ्चालकमा चयन भएका छन्। त्यस्तै, सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल चयन भएका छन्।
सभापछि बसेको सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सर्वसम्मत रूपमा बैंकको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी सञ्चालक समितिका प्रस्तावलाई पनि अनुमोदन गरेको छ।
बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशीका अनुसार ग्राहकको विश्वास र भरोसाका आधारमा बैंकले देशभर १ सय ९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। आगामी दिनमा बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै सेवा विस्तार गर्ने लक्ष्यसमेत बैंकले अघि सारेको छ।