काठमाडौं : नेपाल आयल निगमले दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ।
प्रस्तावित व्यवस्थाअनुसार उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीकै सिलिन्डर खोजिरहनुपर्ने बाध्यता हट्नेछ। बजारमा उपलब्ध जुनसुकै कम्पनीको भरिएको सिलिन्डर लिन सकिने गरी विभिन्न ब्रान्डका खाली सिलिन्डरबीच अस्थायी साटासाटको व्यवस्था गर्न लागिएको हो।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार ग्यास बजारमा पर्याप्त भए पनि सिलिन्डरको ब्रान्ड नमिल्दा उपभोक्ताले समस्या भोग्ने गरेका छन्। विशेषगरी एउटा मात्रै सिलिन्डर भएका परिवारलाई यस्तो समस्या बढी पर्ने भएकाले चाडपर्वको समयमा तत्काल राहत दिने उद्देश्यले व्यवस्था अघि बढाइएको हो।
उनका अनुसार ग्यास उद्योगीहरूसँग भएको छलफल सकारात्मक रहेकाले व्यवस्था कार्यान्वयन गर्ने विषयमा अन्तिम तयारी भइरहेको छ। उद्योगीहरूबीच सहमति भएपछि चाडपर्वको अवधिमा उपभोक्ताका लागि सेवा सञ्चालन गरिनेछ।
वित व्यवस्थामा उपभोक्ताले एउटा कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिँदा अतिरिक्त रकम तिर्नु नपर्ने व्यवस्था गरिनेछ।
यसअघि फरक ब्रान्डका सिलिन्डर साट्दा कतिपय विक्रेताले थप शुल्क लिने गरेको गुनासो आउने गरेको थियो। तर चाडपर्वका लागि सञ्चालन गर्न लागिएको विशेष व्यवस्थामा भने उपभोक्ताबाट यस्तो शुल्क नलिने गरी सहमति जुटाउने तयारी छ।
उपत्यकामा १५ देखि २० संयुक्त बिक्री केन्द्र बनाउने तयारी
ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संयुक्त बिक्री केन्द्र सञ्चालन गर्ने तयारीसमेत गरेका छन्। प्रारम्भिक छलफलअनुसार उपत्यकाका करिब १५ देखि २० स्थानमा यस्ता केन्द्र स्थापना गर्ने विषयमा उद्योगीहरूबीच छलफल भइरहेको छ।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार एउटा कम्पनीको खाली सिलिन्डरलाई अर्को कम्पनीले अस्थायी रूपमा स्वीकार गर्ने र पछि सम्बन्धित उद्योगहरूले आपसी समन्वयमा सिलिन्डर व्यवस्थापन गर्नेछन्।
घिमिरेका अनुसार यो व्यवस्था नियमित व्यावसायिक कारोबारका लागि नभई चाडपर्वमा ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई तत्काल राहत दिने उद्देश्यले सीमित अवधिका लागि सञ्चालन गरिनेछ।
दुरुपयोग रोक्न मोबाइल नम्बर र पहिचान विवरण राखिने
सिलिन्डर साटासाटको सुविधा व्यवसायी वा डिलरले दुरुपयोग गर्न नपाऊन् भनेर सेवा लिने उपभोक्ताको पहिचानसम्बन्धी विवरण र मोबाइल नम्बर राख्ने तयारी गरिएको छ।
यसबाट वास्तविक उपभोक्तालाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउन सकिने र अनावश्यक रूपमा सिलिन्डर संकलन गर्ने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने उद्योगीहरूको भनाइ छ।
स्थानीय विक्रेताबाटै सेवा दिन निगमको जोड
निगमले संयुक्त बिक्री केन्द्र स्थापना गर्नुका साथै सम्भव भएसम्म स्थानीय ग्यास विक्रेताकै तहबाट पनि सिलिन्डर साटासाटको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ।
स्थानीय स्तरमै सेवा उपलब्ध भए उपभोक्ताले टाढासम्म पुगेर ग्यास खोज्नुपर्ने अवस्था नआउने निगमको बुझाइ छ। सेवा सञ्चालन हुने स्थान, प्रक्रिया र समयावधि टुङ्गो लागेपछि एक–दुई दिनभित्र औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरिएको छ।
दशैंका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले सामान्य अवस्थामा ग्यासको माग घट्न सक्छ। तर उपत्यकामै बस्ने परिवारका लागि आफूले प्रयोग गर्ने ब्रान्डको सिलिन्डर नपाउने समस्या भने रहन सक्ने भएकाले प्रस्तावित साटासाट व्यवस्थाले चाडपर्वमा ग्यासको खोजीमा पसल–पसल धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।